
काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बुद्धिराज गुरूङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयको छिनोफानो अदालतले गर्ने टिप्पणी गर्नुभएको छ ।
सरकारले ओली र लेखकलाई विभिन्न दबाबमा परेर तत्काल पक्राउ गरेको भए पनि त्यसो गर्नु ठिक हो वा होइन ? भन्नेकुराको निरूपण भने अदालतले मात्रै गर्न सक्ने उहाँको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वएआईजी गुरुङले प्रशासनिक हिसावबाट कहिले काहीँ कुनै व्यक्तिलाई केही समयका लागि न्यायिक हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने भए पनि त्यसलाई निर्णय लिने निकाय भनेको सरकार नभइ न्यायिक निकायबाट हुने स्पष्ट पार्नुभयो ।
पूर्वएआईजी गुरुङले सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अधिकार आदेशले नभइ कानुनले दिने तथ्य भुल्न नहुने पनि बताउनु भयो । सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अवस्था र अधिकार कानुनमा स्पष्ट उल्लेख गरिएकाले त्यसमा माथिबाट आउने आदेशको कुनै अर्थ नहुने उहाँको तर्क थियो ।