
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनु भयो ।
आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेसागत भावअनुसार निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने समेत स्पष्ट पार्नुभयो ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो । विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ ।