
काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले)ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको हो । अध्यक्ष ओलीको विरोधमा एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउन माग गरेको छ ।
एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताउनु भयो । उहाँले जेन–जी आन्दोलन जाँचबुझ आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने समेत बताउनु भयो ।
उहाँले नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न सरकार जिम्मेवार हुनुपर्ने समेत उल्लेख गर्नुभयो ।