
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न २८ जिल्लाहरूमा ३८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।
यी घटनाहरूमा परी तीन जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । प्राधिकरणको पछिल्लो बुलेटिनअनुसार यस अवधिमा १ करोड १४ लाख ७२ हजार रूपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
आगलागी र सर्पदंशबाट मानवीय क्षति
प्राधिकरणकाअनुसार आगलागीका १५ वटा घटनाहरूमा परी दुई जनाको मृत्यु भएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित भएका छन् भने एक जना घाइते भएका छन् । त्यस्तै, सर्पदंशका दुई घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो ।
विपद्का घटनाहरूको विस्तृत विवरण
पछिल्लो २४ घन्टामा बाढीका पाँच, पहिरोका चार, चट्याङका पाँच, र हावाहुरीका तीनवटा घटनाहरू भएका छन् । चट्याङका कारण नाै जना घाइते भएका छन् भने हावाहुरीबाट एक जना घाइते भएका छन् । बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, वन डढेलोका दुई, अविरल वर्षाको एक र जनावर आक्रमणको एक घटना दर्ता भएका छन् ।
वर्षभरिको भयावह तथ्याङ्क (२०८२ वैशाख १ देखि)
कुल विपद् घटनाहरू ७ हजार २ सय ७९ रहेका छन् । यी घटनाहरूबाट कुल मृत्यु हुनेको संख्या ४ सय ८१ रहेको छ भने बेपत्ता हुनेहरुको संख्या ३८ रहेको छ । त्यस्तै कुल घाइतेको संख्या १ हजार ९ सय ६ रहेको छ भने १३ हजार १ सय ५१ प्रभावित परिवार रहेका छन् ।
प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ गतेदेखि हालसम्म आगलागीबाट सबैभन्दा बढी १०२ जनाको मृत्यु भएको छ भने बाढीबाट ३८ र पहिरोबाट ७६ जनाले ज्यान गुमाएका छन् । सर्पदंशका कारण ९८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । विपद्का कारण हालसम्म १३ हजार १ सय ५१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।