अस्पताल भवन अलपत्र बनाउने ठेकदारको गाडी नियन्त्रणमा

चैत्र ९, २०८२ |उत्तम चौलागाईं
अस्पताल भवन अलपत्र बनाउने ठेकदारको गाडी नियन्त्रणमा

खोटाङ । आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायीको गाडी नियन्त्रणमा लिइएकाे छ । 

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित निर्माणाधीन अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना-हिमालयन जेभी विराटनगरको गाडी आइतबार नियन्त्रणमा लिइएको हो । निर्माण व्यवसायी रमेश बस्नेतले चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयाे।

भवन निर्माणका सामाग्री र आवश्यक जनशक्तिको व्यवस्थापन गरेर ठेक्का अनुसारको काम सुरू नगरेसम्म गाडी, गाडीको चाँबी र सवारी साधन दर्ता प्रमाण-पत्र नियन्त्रणमा लिइएको राईको भनाइ छ । १५ शैयाको अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । 

निर्माण कम्पनीले २०८० साउन ८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार म्याद नाघेको दुई वर्ष बितिसक्दा अस्पताल भवन जगभन्दा माथि उठ्न सकेको छैन ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।