अविरल वर्षाका कारण देशका केही स्थानमा सडक अवरूद्ध

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षाका कारण देशका केही स्थानमा सडक अवरूद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका केही स्थानमा सडक अवरूद्ध भएका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा दुईतर्फी अवरूद्ध भएको छ । हिलोले सवारी सञ्चालनमा कठिनाइ हुँदा सयौँ सवारीसाधन दाउन्नेको जाममा रोकिएका छन्। लगातारको वर्षाले हिलोमा सवारी फसेको र साना सवारी खाल्टाखुल्टीले चलाउन असहज भएपछि शनिबार बिहान ११ बजेबाट दुइतर्फी नै यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाउन्ने बजार क्षेत्र , पैसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी सञ्चालन नसक्दा यातायात अवरुद्ध भएको हो । सडक विभागले गएरातिदेखि मालवाह सवारी लाई राति चलाउन रोक लगाएर यात्रुबाहक र अत्यावश्यक सवारी मात्र सञ्चालन गरेको थियो । तर , रातभरिको वर्षाले सडकमा पानीको भल बगेर यात्रुबाहक बस पनि चल्न नसकेपछि यात्रु मर्कामा परेका छ्न् ।

त्यस्तै शुक्रबारदेखि परेको वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शनिबार बिहानैदेखि पानी पर्न थालेपछि राजमार्गको तानसेन-बुटवल सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका-३, सिद्धबाबा क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइएको हो ।

यता बीपी राजमार्गको काभ्रे खण्डमा अविरल वर्षासँगै आएको पहिरो र खोलामा बढेको पानीको बहावका कारण पटक–पटक अवरोध हुँदै आएको छ। शनिबार बिहान साढे ३ बजेदेखि रोशी गाउँपालिकाको चारसय बेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रका सडक खण्डमा रोशी खोलाको पानी सडकमा पस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

यसअघि पनि विभिन्न स्थानमा पहिरो खस्नु, ढुंगा झर्नु तथा सडक चिप्लो बन्नुका कारण सवारी आवागमन प्रभावित बनेको थियो। सम्बन्धित निकायले अवरुद्ध खण्डहरूमा मर्मत तथा सफाइ कार्य गरेपछि केही समयका लागि राजमार्ग दुईतर्फी सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको छ।

लामो समयसम्म जाममा परेका तथा अलपत्र यात्रुहरू जोखिम मोलेरै गन्तव्यतर्फ अघि बढिरहेका छन्। सम्बन्धित निकायले सडक खुलाउने कार्य जारी राखेको जनाएको छ भने यात्रु तथा सवारी चालकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.