
काठमाडौं । भीषण हावाहुरीसहितको चट्याङ र असिनापानी परेपछि देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ ।
केही हिमाली र उच्चपहाडी क्षेत्रमा हिमपात भएको छ भने केही स्थानमा यातायात अवरुद्ध भएको छ । हावाहुरी र असिनाले आँप लिची लगायतका फलफूल र खेतीबालीमा पनि नोक्सानी पुगेको छ । कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हावाहुरी र वर्षाको प्रभाव बढी देखिएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमका केही जिल्लामा पानी परिरहेको छ । पश्चिमी वायुको पानी पार्ने प्रणाली अझै केही समय सक्रिय रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।
आइतबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार बिहान पश्चिम र पूर्वी नेपालबाट हल्का वर्षा सुरू भएको थियो। शुक्रबार अपराह्नदेखि भने केही स्थानमा भारी वर्षा भएको छ ।
शनिबार दिउँसोसम्म केही ठाउँमा मेघगर्जन, चटयाङ, असिनासहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यो प्रणालीले मधेसलगायत तराई र भित्रि मधेशमा चट्याङ र असिनासहित भारी वर्षा गराउने बताइएको छ । नेपालमा अहिले पानी पार्न पश्चिमी न्यूनचापीय प्रणालीले भूमिका खेलिरहेको छ।
हिउँद र चैत–वैशाखको समयमा पानी पार्न भूमध्यसागरबाट पानी पार्ने प्रणाली भित्रने गर्छ। यसपालि त्यही प्रणाली अलि बढी सक्रिय हुँदा लगातार झरी परिरहेको हो। यसका साथै चैत-वैशाखको समयमा स्थानीय वायुका कारण पनि पानी पार्ने प्रणाली बन्ने गरेको छ। अहिले स्थानीय वायु पनि सक्रिय छ।