
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र शनिबार देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।
एक महिना लामो पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै शनिबार यो पर्व मनाउने परम्परा रहेको छ । शनिबार बिहानैदेखि काठमाडौंको घन्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका विभिन्न मस्जिद र ईदगाहहरूमा इस्लाम धर्मावलम्बीहरूको ठूलो उपस्थिति रहेको छ ।
मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै उनीहरूले देशमा शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् । ईदको अवसरमा शनिबार बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गर्ने गरिन्छ । प्रार्थनापछि एक–अर्कालाई अँगालो हालेर ‘ईद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
यस पर्वमा गरिब तथा असहायलाई दान (जकात र फित्रा) दिने परम्परा पनि रहेको छ, जसले समाजमा समानताको सन्देश दिन्छ । घरघरमा सेवई, खजुरलगायतका विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ। यो पर्वले मुस्लिम समुदाय मात्र नभइ सम्पूर्ण नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।