
धनकुटा । जल तथा मौसम विज्ञान विभागको चेतावनीपछि धनकुटामा स्थानीय प्रशासनले सतर्कता सूचना जारी गरेको छ।
विभागले शुक्रबार र शनिबार धनकुटा, धरान र विराटनगरलगायतका क्षेत्रमा शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विभागका अनुसार हावाको गति प्रतिघन्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ। यसैबीच सशस्त्र प्रहरी बल नेपालअन्तर्गत छिन्ताङ गुल्म धनकुटाले जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरू गरेको छ।
गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेम प्रसाद सिग्देलका अनुसार धनकुटा बजारसँगै मूलघाटस्थित बेस क्याम्पबाट समेत सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ। चट्याङ पर्ने सम्भावना भएका बेला खुला ठाउँ, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र एक्लो रूख, बिजुलीको पोल वा टावर नजिक नजान विभागले सुझाव दिएको छ।
सम्भव भएसम्म घरभित्र सुरक्षित स्थानमा बस्न तथा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। त्यस्तै, हावाहुरीको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत राख्न र रूख, होर्डिङ बोर्ड तथा कमजोर संरचनाबाट टाढा रहन अनुरोध गरिएको छ।
सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन चालकलाई सचेत गराइएको छ। भारी वर्षाका कारण नदी तथा खोलानालामा बाढीको जोखिम बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न र अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।
आपत्कालीन अवस्थाका लागि सुरक्षा निकायको सम्पर्कमा रहन र आवश्यक नम्बर अद्यावधिक राख्न सशस्त्र प्रहरी नायब उपरीक्षक सिग्देलले आग्रह गर्नुभयाे । मौसमीय सतर्कताका कारण धनकुटा बजारका केही निजी तथा आवासीय विद्यालयले शुक्रबार बिदा दिएका छन्।