
काठमाडौं । निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ ।
पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरूको बुझाइ छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र बाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताउनु भयो ।
उहाँकाअनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन । सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उहाँको भनाइ छ । उहाँकाअनुसार हालसम्म करिब १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्यून देखिएको छ ।
अर्थ मन्त्रालयले न्यून बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्याइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरूले गरिरहेको उहाँको भनाइ छ । यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिकालगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताउनु भयो ।
विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरूद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उहाँको भनाइ छ । अध्यक्ष सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप पनि लगाउनु भयो ।
अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उहाँको भनाइ छ । सिंहकाअनुसार विगत दुई-तीन महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ । मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उहाँको भनाइ छ ।
सिंहकाअनुसार प्रशासनले बोतलमा इन्धन विक्रीमा प्रतिबन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको छ । इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उहाँले माग समेत गर्नुभयो ।