वर्षासँगैको हावाहुरीका कारण उदयपुरमा दुई जनाको मृत्यु, ६ घाइते

धनकुटामा एक दर्जन घर र केही सरकारी कार्यालयमा क्षति
कोशी राजमार्ग अवरूद्ध
चैत्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्षासँगैको हावाहुरीका कारण उदयपुरमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर । जिल्लामा गएराति वर्षासँगै आएको हावाहुरीका कारण रूख ढलेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका-८ का ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका-५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उता सोमबार राति आएको हावाहुरीसहितको वर्षाले धनकुटाका विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि सुरू भएको हावाहुरीका कारण रूख ढल्दा कोशी राजमार्गको धनकुटा–हिले खण्ड अवरूद्ध भएको थियो ।

हावाहुरीका कारण सरकारी कार्यालय र निजी घरमा समेत क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकामस्थित डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद अस्पताल, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय तथा सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म ब्यारेकमा क्षति पुगेको छ।

हावाहुरीका कारण विभिन्न स्थानमा भवनाका छाना उडेको र संरचनामा क्षति पुगेको छ। धनकुटा नगरपालिका–५ बालमन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी घरका छाना उडाएको स्थानीयले बताएका छन्। यस्तै साप्ताहिक रूपमा बिहीबार हाट लाग्ने बिहीबारे हटियामा ठूला रूख ढलेर पसल कबलमा क्षति पुगेको छ। सदरमुकामस्थित सल्लेरी राष्ट्रिय वनमा करिब एक सयवटा ठूला सल्लाका रूख भाँचिएर ढल्दा भित्रि सडकहरू अवरूद्ध छन्।

आँधीहुरीकै कारण सोमबार रातिदेखि नै जिल्लाभर विद्युत् सेवा अवरूद्ध छ। नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाका अनुसार विभिन्न स्थानमा बिजुलीका पोल ढल्नुका साथै तार चुँडिएकाले तत्काल सेवा सुचारू हुन सक्ने अवस्था छैन। सिधुवा, जोरपाटी, हिले र सदरमुकामलगायत क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ।

मुख्य स्थानमा ढलेका पोल हटाउन सके मंगलबार साँझसम्म केही क्षेत्रमा विद्युत् सेवा आंशिक रूपमा सुचारू गर्न सकिने सम्भावना रहेको विद्युत् प्राधिकरणका हेम थापाको भनाइ छ। विद्युत सेवा अवरूद्ध हुँदा इन्टरनेट सेवा पनि प्रभावित बनेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.