
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूका लागि गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरू भएको छ ।
सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि रास्वपाले अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
जनतामा अत्याधिक आशा रहेकाले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाइ छ । जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको उल्लेख गर्दै उहाँले त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेट दिएर पठाएको बताउनुभयो । जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।
रास्वपा प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिन आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका नीति र सांसदका रूपमा गर्नुपर्ने कामबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी गराइनेछ । विशेषगरी पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।
अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । यस्तै देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ । संघीय संसद्को कानुन निर्माणमा के कस्तो भूमिका रहेको छ तथा डिजिटल युगमा सांसद र नागरिकबीच कस्तो र कसरी सम्बन्ध कायम गर्ने भन्नेबारे पनि सांसदहरूलाई विज्ञले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणमा मेघ आले, अनिल चित्रकार, संसद सचिवालयका पूर्वसचिव सुरेश अधिकारी, आईटी विज्ञ दोभान राइलगायतले सहजकर्ता तथा वक्ताको भूमिका निर्वाह गर्नेछन् । बुधबार हुने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्षबाट निर्वाचित १ सय २५ र समानुपातिकबाट निर्वाचित ५७ गरी १ सय ८२ सांसदहरु सहभागी छन् ।