
काठमाडौं । इराकको अर्विलमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन्।
त्यस्तै विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत १ सय २० नेपालीलाई होटलमा सारिएको छ। यूएईको महावाणिज्य दूतावासमा हमला हुँदा घाइते दुई नेपालीमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
एकको हात र अनुहारमा आगोले पोलेको छ। अर्का नेपालीको हातमा सामान्य चोट लागेको छ। महावाणिज्य दूतावासमा १३ जना नेपाली सुरक्षागार्ड र दुई जना नेपाली महिला कर्मचारी गरी १५ जना कार्यरत छन्। दूतावासलाई लक्षित गरी एक साताभित्र गरिएको यो दोस्रो आक्रमण हो।