
काठमाडौं । मिटरब्याज पीडिकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।
काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडिकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ ।
लाखौ रूपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताउनु भयो । उहाँले पीडकहरूले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्नु भयो ।
त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया सुरू गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् । आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताउनु भयो ।
उहाँले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले आफूहरूको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।