
काठमाडौं । यसपटकको निर्वाचनमा उम्मेदवार रहेका पूर्वउपप्रधानमन्त्री, पूर्वसांसददेखि सेलेब्रिटीसम्मको जमानत जफत भएको छ ।
अघिल्लो निर्वाचनमा पहिलो र दोस्रो दल बनेका कांग्रेस-एमालेका नेताहरुले नै जमानत जोगाउन सकेनन् । निर्वाचित उम्मेदवारले फराकिलो मतान्तरले जित्दा कतिपय क्षेत्रमा अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनका बेलामा कहिले जेरी र चटपटे बनाएर त कहिले उखु बोकेर भाइरल हुनुभएका ऋषि धमलाले रौतहट ४ मा जमानतसमेत जोगाउन सक्नुभएन । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरे जमानत जफत हुने कानुनी व्यवस्था अनुसार उक्त क्षेत्रमा सदर भएको ६९ हजार ६ सय ६८ मतमा धमलाले ६ हजार ९ सय ६७ मत ल्याउनुपर्ने थियो । तर, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्नुभएका उहाँले ६ सय ५५ मतमात्रै पाउनुभयो।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपा नेता कमल थापाको पनि काठमाडौं ५ मा जमानत जफत भयो रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा थापाले भने १ हजार ९ सय २२ मत मात्र पाउनुभयो। सोही क्षेत्रबाट ‘गतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिस्पर्धा गरेकी अभिनेत्री तथा सगरमाथा आरोही निशा अधिकारीको समेत जमानत जफत भएको छ ।
उहाँसहित काठमाडौं ५ मा २२ जनाको जमानत जफत भयो । देशभर रास्वपाले सुनामी ल्याउँदा रास्वपाकी निवर्तमान सांसद विनिता कठायतले जमानतसमेत जोगाउन सक्नुभएन । राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा कठायतले ४ सय २१ मत मात्र प्राप्त गर्नुभयो ।
हुम्लाबाट उम्मेदवार बन्नुभएकी रास्वपाकी टासी ल्हाजोमको समेत जमानत जफत भएको छ । यता बारा ४ मा राष्ट्रिय परिवर्तन पार्टीबाट चुनाव लड्नुभएका पूर्वआईजीपी सर्वेन्द्र खनालले समेत जमानत जोगाउन सक्नुभएन । उक्त क्षेत्रमा रास्वपाका रहबर अन्सारी ४१ हजार २ सय मत ल्याएर निर्वाचित हुँदा खनालले २ सय ७१ मतमात्रै ल्याउनुभयो ।
बारा ३ मा एमाले नेता एवं पूर्वकृषिमन्त्री ज्वालाकुमारी साहको पनि जमानत जफत भएको छ । यहाँ रास्वपाका अरविन्द साहले ४० हजार ६ सय ९७ मत ल्याएर जित निकाल्दा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरबाहेक सबैको जमानत जफत भयो ।
बाराका चारवटै क्षेत्रमा पूर्वमन्त्री र दलका अध्यक्षसहित ९९ उम्मेदवारको जमानत जफत भएको छ । सर्लाही २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ । सर्लाहीका चारवटा क्षेत्रमा १ सय २४ जनाको जमानत जफत भएको छ ।
झापा–२ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा होमिनुभएका वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले समेत जमानत जोगाउन सक्नुभएन । रास्वपाकी इन्दिरा रानामगरले ६० हजार १ सय १० मत ल्याएर निर्वाचित हुँदा संग्रौलाले ३ सय ५ मतमात्रै पाउनुभयो ।
काठमाडौं १ मा उम्मेदवारी दिनुभएका पठाओका सञ्चालक उद्यमी असिममान सिंह बस्न्यातले ५० मतमात्रै पाउनुभयो । यहाँ २९ उम्मेदवारमध्ये २६ जनाको जमानत जफत भयो । काठमाडौं ८ मा उपविजेताकै जमानत जफत भएको छ । २४ हजार ५९२ मत ल्याएर रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत त ल्याउनुभयो । तर जमानत जोगिन सकेन ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप गर्दा २ सय २६ उमेदवारको जमानत जफत भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले चुनाव जितेको झापा ५ मा २२ जना उम्मेदवारको जमानत जफत भएको छ, नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला र श्रम संस्कृति पार्टीका समिर तामाङसम्मको जमानत जफत भएको हो ।
झापाका ५ वटै निर्वाचन क्षेत्रका ७८ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारी दर्ताका क्रममा हरेक उम्मेदवारले जनही १० हजारका दरले धरौटी रकम जम्मा गर्नुपर्ने हुन्छ । जमानत जफत भएपछि उक्त रकम राज्यकोषमा जम्मा हुने कानुनी व्यवस्था छ ।
प्रकाश बम र नमिता चौलागाइको रिपोर्ट ।।