
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १ सय २५ सिटमा विजयी भएको छ ।
रास्वपाले प्रत्यक्षतर्फका १ सय ६५ सिटमध्ये ७५ प्रतिशतभन्दा बढी सिटमा विजयी भएको हो । प्रत्यक्षतर्फ नेपाली कांग्रेस दोस्रो ठूलो पार्टी बनेको छ । कांग्रेस १८ सिटमा विजयी हुँदा एमाले तेस्रो स्थानमा सीमित भएको छ ।
विभिन्न वामपन्थी दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले भने ७ स्थानमा मात्र जित हात पारेको छ । यता जेन-जी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले भने ३ स्थानमा जित हात पारेको छ । यो दलले छोटो समयमै संसदीय राजनीतिमा आफूलाई उभ्याउन सफल भएको छ ।
यस्तै राजतन्त्रको समर्थन गर्ने दल राप्रपाले भने जम्मा १ सिट जितेको छ । देशभर स्वतन्त्र पार्टीको लहर आउँदा एक जना उम्मेदवार भने स्वतन्त्रबाटै विजयी भएका छन् । गए राति विभिन्न स्थानका नतिजा सार्वजनिक भए । गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६ हजार ६ सय ६० मत ल्याएर निर्वाचित हुनुभयो ।
उहाँले नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई १४ हजार ९ सय ६० मतान्तरले पराजित गर्नुभयो । यस्तै रास्वपाकै विक्रम तिमिल्सिनाले नुवाकोट १ मा विजय हासिल गर्नुभयो । उहाँले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गर्नुभयो ।
यस्तै सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२ हजार ७ सय ७१ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गर्नुभयो । यस्तै राति नै अछाम २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी निर्वाचित हुनुभयो । बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गर्नुभयो । उहाँले कांग्रेसका पुष्प शाहलाई ४ सय ७२ मतान्तरले पराजित गर्नुभयो ।