रुकुम पश्चिम। दश वर्षे सशस्त्र विद्रोहको बाटो छोडेर शान्ति प्रक्रियामा आएपछि वि.सं. २०६४ सालको संविधान सभा निर्वाचनमार्फत तत्कालीन नेकपा माओवादीले पहिलोपल्ट संसदीय चुनाव लड्यो ।
साविकको रूकुमबाट प्रत्यक्ष उम्मेदवार थिए जनार्दन शर्मा । र, उहाँलाई जिताउन त्यसबेलाका चुनावी कमान्डर हुनुहुन्थ्याे गोपाल शर्मा । यसपछिका निर्वाचनमा गोपालले पार्टी सम्हाल्नुभयाे, जनार्दनले संसद् ।
तर समय एकै रहेन ।
त्यसबेला एउटै पार्टी-संगठनमा रहेका गोपाल र जनार्दन यसपटकको निर्वाचनमा भने एक-अर्काको प्रतिस्पर्धी बने । माओवादीबाट बनेको नेकपामा गोपाल रहिरहे भने जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी - प्रलोपा गठन गर्नुभयाे । दुवै जना एउटै निर्वाचन क्षेत्रमा फरक-फरक पार्टीबाट चुनाव लड्नुभयाे ।
परिणाम आयो गोपालको पक्षमा जित, कांग्रेसका उम्मेदवार राजु केसी दोस्रो र जनार्दन तेस्रो । २०६४ पछिका चारवटा निर्वाचनमा जनार्दन जिताउन लाग्नुभएका गोपाल यसपल्ट भने उहाँलाईनै हराउँदै सासंद हुनुभएकाे छ । आइतबार बिहानपख मतगणना सकिएपछि दिउँसो नेकपाले सदरमुकाममा विजय जुलस निकाल्यो अनि कोणसभामा बोल्दै गोपालले जनार्दन लक्षित तिखो टिप्पनी गर्नुभयाे ।
२०४६ सालमा १२ पर्षको हुँदा विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका गोपाल शर्मा यसबीचमा पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भई अर्थमन्त्री समेत हुनुभएका व्यक्ति हुन् ।
जर्नादनले पार्टी छोड्नु र आफ्नो प्रतिस्पर्धी हुनुलाई गोपालले विडम्वनाका रुपमा लिएको यसअघि कान्तिपुरसँगको कुराकानी क्रममा बताउनुभयाे थियाे । यसपल्टको चुनावी प्रचार-प्रसारका क्रममा नेकपा र प्रलोपाका नेता-कार्यकर्ताले एक-अर्काको विरोध र आलोचना गरे ।
यसबाट अनुमान लगाउन सकिन्छ, अब यी दुई बीचको पुनर्मिलन लगभग असम्भव छ । एकातिर आफ्नै पूर्व पार्टी र सहकर्मीसँग चुनाव हारेका र अर्कोतिर देशभर एक सिट पनि जित्न नसकेको पार्टी प्रलोपामा रहेका जनार्दनको राजनीतिक भविष्य के हुन्छ, भन्ने जिज्ञासा यतिबेला सर्वत्र छ ।
एमाले र उज्यालो नेपाल पार्टीले आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएर जनार्दनलाई समर्थन गर्दा पनि उहाँको पक्षमा अपेक्षित परिणाम भने आउन सकेन । २०६४ पछिको माओवादी विरासतको निरन्तरताका रूपमा गोपाल शर्मा पहिलोपल्ट संसद् छिर्दै गर्दा १८ वर्षदेखिको जनार्दन शर्माको संसदीय यात्रामा भने हाललाई विराम लागेको छ ।
जनार्दन हुन् वा गोपाल जो भए पनि अन्ततः रूकुमको विकास र यहाँका जनमनका माग अनि आवश्यकताहरुको उचित सम्बोधन गर्नु प्राथमिक विषय भएको मतदाताको भनाइ छ ।