प्रत्यक्ष र समानुपातिकमा वर्चस्व कायम गर्दै रास्वपा दुई तिहाइतर्फ

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रत्यक्ष र समानुपातिकमा वर्चस्व कायम गर्दै रास्वपा दुई तिहाइतर्फ

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ वर्चस्व कायम गर्दै दुई तिहाइ बहुमततर्फ अगाडि भएको छ । 

प्रत्यक्षतर्फ १ सय ५६ स्थानको मतपरिणाम सार्वजनिक हुँदा रास्वपा एक्लै १ सय २० स्थानमा विजयी भएको छ । समानुपातिकमा पनि ५३ लाख ५० हजारभन्दा बढी मत गणना हुँदा २६ लाखभन्दा बढी मत रास्वपाको पोल्टामा गएको छ ।

रास्वपाले काठमाडौं उपत्यकाकासहित धेरै जिल्लामा क्लिनस्विप नै गरेको छ । अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने भाष्य स्थापित भैरहेका बेला रास्वपाले एक्लै दुई तिहाइको अभूतपूर्व जनमत पाउने निश्चित जस्तै छ ।

पछिल्लो परिणामअनुसार गणना भइरहेका ५ स्थानमा पनि रास्वपाका उम्मेदवारहरू भारी मतान्तरका साथ अगाडि छन् । यस्तै नेपाली कांग्रेसले १७ स्थानमा जित दर्ता गर्दा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी भने ७-७ स्थानमा सीमित भएका छन् ।

नेपाली कांग्रेसले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा जित हासिल गर्दा एमाले कोशीका तीन, सुदूरपश्चिमका २, लुम्बिनी तथा कर्णालीको एक र एक र सुदूरपश्चिमका २ क्षेत्रमा मात्र जित हासिल गरेको छ । २ दर्जन गठबन्धनसहितको नेकपा लुम्बिनी र कर्णाली प्रदेशका क्षेत्रमा मात्र सीमित भएको छ ।

जेन-जी आन्दोलनपछि गठन भएको श्रम संस्कृति कोशी प्रदेशमा राम्रो उपस्थिति जनाएको छ । पार्टी सुनसरी १, भोजपुर १ र खोटाङ १ मा विजयी भएको छ । जेन-जी आन्दोलनपछि गठन भएको उज्यालो नेपाल र गतिशील लोकतान्त्रिक पार्टीसहित जनमत पार्टी, जनता समाजवादी पार्टीलगायतका दलहरुको भने निर्वाचनमा शून्य उपस्थिति रह्यो ।

देशैभर रास्वपाको लहर आउँदा म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएका महावीर पुनले जित हात पार्नुभएको हो । उहाँ अहिलेसम्म जित्ने एक मात्र गैरदलीय उम्मेदवार हुनुहुन्छ ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट हात पारेको छ । राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित हुनुभएको हो ।

यसैबीच धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । यस क्षेत्रका रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवार खारेज भए पनि घन्टी चिन्हमा परेको मतलाई के गर्ने भन्ने विवाद सर्वोच्च अदालत पुगेपछि आयोगले स्थगन गर्न निर्देशन दिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.