
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगकाअनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।
उहाँले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँकाअनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले केही केन्द्रमा अझै मतदान गरिरहेका छन् भने खसेको मतको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटपुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको उहाँले बताउनु भयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना सुरू गरिने जानकारी दिनुभयो ।
आयोगकाअनुसार भौगोलिक रूपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको छ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका बिहीबारनै सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ ।
त्यसैगरी, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रूकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रबार बिहान मात्र मतपेटिका मतगणना स्थलमा पुर्याइने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनु भयो ।