सिन्धुपाल्चोकमा अपाङ्गता भएका र ज्येष्ठ नागरिक मतदाताको उत्साहजनक सहभागिता

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा अपाङ्गता भएका र ज्येष्ठ नागरिक मतदाताको उत्साहजनक सहभागिता

सिन्धुपाल्चोक । लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण दिन प्रतिनिधि सभाको मतदानमा बिहीबार सिन्धुपाल्चोकका बहुअपाङ्गता, अपाङ्गता र जेष्ठ नागारिक मतदाता उत्साहपूर्वक सहभागी भएका छन्। 

बिहानैदेखि उनीहरू आ-आफ्नो मतदान केन्द्रमा पुगेर ज्येष्ठ नागरिकहरू आफन्तको सहयोगमा र अपाङ्गता भएका मतदाताहरू ह्वीलचियरको सहायतामा मतदानस्थलसम्म पुगेर सहज वातावरणमा आफ्नो मतअधिकार प्रयोग गरी खुसीले फर्केका छन् ।

सिन्धुपाल्चोक चौतारा साागाचोकगढी नगरपालिका-५ स्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बहुअपाङ्गता भएका ३० वर्षीय सिर्जन श्रेष्ठले मतदान गर्नुभएको छ । चारै हातखुट्टा अपाङ्गता भएका श्रेष्ठ बोल्न सक्नुहुन्न। तर शारीरिक सीमितताका बाबजुद पनि उहाँले आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ । 

अपाङ्गमैत्री रहेको मतदान केन्द्रमा कुनै झन्झट बेहोर्नु परेन । चौताराका अमर घले पनि मतदान गरेर फर्किनुभएको छ । बैसाखीको सहारामा मतदान केन्द्र पुग्नुभएका घलेले यसपटक सहज रूपमा मतदान गर्न पाउनुु भयो । अघिल्ला निर्वाचनहरूमा मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा निकै समस्या भोग्नुपरेको थियो । 

मतदान गर्न पुग्न र प्रक्रिया पूरा गर्न धेरै कठिनाइ हुन्थ्यो। तर यसपटक भने मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताका लागि सहज पहुँच, सहयोगी वातावरण र आवश्यक व्यवस्थाका कारण आफूले बिना झन्झट मतदान गरेर फर्किन पाउँदा घले निकै खुसी देखिनुभएको छ।

अपांगत भएका व्यक्तिसँगै सिन्धुपाल्चोकका जेष्ठ नागारिकमा पनि मतदानस्थलमा चुनावको रौनक देखिन्छ । जिल्लाभरको मतदान केन्द्रहरूमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्था गरिएकाले सहज रूपमा मतदान गर्न पाएका हुन् । 

मतदान केन्द्रहरूमा सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा व्यवस्थित र सहज वातावरणमा मतदान भइरहेको छ। कोही आफन्तको सहयोगमा त कोही आफैं मतदान प्रक्रियामा सहभागी भएका छन् । शारीरिक अवस्था जस्तोसुकै भए पनि नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकार र अवसर सुनिश्चित गर्नुपर्ने सन्देश सिन्धुपाल्चोकको मतदानस्थलहरुको दिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.