
दोलखा (कास) । दोलखाको तामाकोसी गाउँपालिकामा ५५ वटा मतपत्र हराएको खुलासा भएको छ ।
एजेन्ट बसेकाले मतपत्रको ठेलीनै कर्मचारीबाट खोसेर लगेका थिए । हराएका मतपत्रको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताउनुभयाे । उहाँकाअनुसार मतपत्रको ठेली खोस्नेहरूलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयाे ।
कर्मचारीबाट मतपत्र खोसिएपछि केहिबेर झडप भएको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । तनाव बढेपछि रोकिएको मतदान अझै सुरू हुन सकेको छैन । सर्वदलीय सहमति बन्न नसक्दा मतदान हुन नसकेको हो ।
मतदानस्थलसहित त्यस क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन भएको छ । मतदानस्थल बाहिर मतदाताले मत खसाल्न पाउनुपर्ने माग गर्दै मतदाताले नाराबाजी गरिरहेका छन् । कतिपय मतदाता घर फर्कन थालेका छन् ।