
काठमाडौं । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय (साँझ ५ बजे) नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ ।
देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका नागरिकलाई यस्तो अपील गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिइ घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताउनु भयो ।
आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी शुद्ध र विधिपूर्वक तरिकाले मतदान गर्न सुझाव दिएको छ । मतदान गर्नु नागरिकको अधिकार मात्र नभइ राष्ट्रप्रतिको महत्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ ।
उहाँले भन्नुभयो, ‘सबै मतदाताहरू कार्यव्यस्तताले गर्दा कतिपय मतदान केन्द्रमा जाँदै हुनुहुन्छ होला, कतिपय मतदान गरेर फर्किसक्नुभयो होला । जो कार्यव्यस्तताले गर्दा पुग्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरिकन मतदान केन्द्रमा गइदिनुस् भन्न चाहन्छौँ ।’
५ बजेसम्मको समय भए पनि अन्तिम समयको प्रतिक्षा गर्दा भीडभाड हुने र प्राविधिक समस्या आउनसक्ने भएकाले समय छँदै आफ्नो काम सम्पन्न गरिदिन आयोगले सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गरेको छ ।