कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारू रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा. तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताउनु भयो । 

सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उहाँले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रबन्ध मिलाइएको स्पष्ट पार्नुभयो । मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उहाँले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ । सबै मतदान केन्द्रहरूमा अहिलेसम्म हामीले त्यस्तो केही मतदान केन्द्रहरू रोकिएको अवस्था पाएका छैनौँ ।’ आयुक्त तुलाधरकाअनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ । 

सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गरेकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.