
रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा दिउँसो ३ बजेसम्म ४० प्रतिशत मतदान भएको छ।
जिल्लामा रहेका कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ७५ हजार ९५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेले बताउनुभयाे । उहाँका अनुसार यो अवधिसम्म पुरूष ४१ हजार ४९० र महिला ३४ हजार ४६१ जनाले मतदान गरेका छन् ।
रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा यो निर्वाचनका लागि ९६ मतदान स्थल र २२८ मतदान केन्द्र रहेका छन् ।
जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रलगायत ग्रामीण भेगका मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी भोलाकुमार भट्टका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
सुरक्षा व्यवस्थासमेत कडा पारिएकाले मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।