
काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै २३ हजार १ सय १२ मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहानको समयमा हिमाली भेगका कतिपय मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति केही न्यून देखिए पनि दिन छिप्पिँदै जाँदा मतदाताको सहभागिता बाक्लो हुँदै गएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार बिहान १० बजेपछि देशभरका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रूपमा बढेको छ ।
आयोगले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार मध्याह्न १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान सम्पन्न भएको थियो । यद्यपि, यो तथ्याङ्क प्रत्येक मिनेटमा बढिरहेको र जिल्लाहरूबाट विवरण आउने क्रम जारी रहेको आयोगले जनाएको छ ।
साढे १२ बजेसम्मको रिपोर्टिङअनुसार हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । अन्य जिल्लाहरूमा पनि मतदाताको सहभागिता निकै उत्साहजनक रहेको र समग्र तथ्याङ्क सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । अहिले नै कुल कति प्रतिशत मत खस्छ भनेर अनुमान गर्नु हतारो हुने प्रवक्ता भट्टराईले बताउनुभयो ।
आयोगले साँझ मतदानको निर्धारित समय सकिएपछि मात्रै कति मतदान भयो भन्ने आधिकारिक र अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ । अहिलेसम्मको अवस्था हेर्दा सबै जिल्ला र मतदान केन्द्रहरूमा सहज रूपमा मतदान भइरहेको आयोगको निष्कर्ष छ ।