विदेशमा रहेका ४० लाख नेपाली मतदानबाट वञ्चित

रोजगारी र अध्ययनका कारण फर्कन नसक्नेको पीडा
फाल्गुन १६, २०८२ |नारायण किलम्बू
विदेशमा रहेका ४० लाख नेपाली मतदानबाट वञ्चित

काठमाडौं । विदेशको व्यस्त जीवन, चापपूर्ण काम र न्यून आयले निराश अधिकांश नेपाली विद्यार्थी निर्वाचनमा मतदान गर्न स्वदेश फर्कन नपाएकामा थप निराश छन् । 

रोजगारीका लागि विदेश गएकाहरू त काम जोखिममा पारेर स्वदेश फर्कनु झन् कठिन छ । सरकारी तथ्यांकअनुसार विदेशमा रहेका झन्डै ४० लाख नेपाली २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न वञ्चित हुँदै छन् ।

उच्च शिक्षा र रोजगारीको आकांक्षासहित बर्सेनि आठ लाखभन्दा बढी नेपालीहरू विदेशिने गरेका छन् । सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र ७ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने उच्च शिक्षा अध्ययन गर्न करिब १ लाख २० हजार विदेशिएका थिए । पढ्न, काम गर्नलगायत विभिन्न उद्देश्यले अहिले ४० लाखभन्दा बढी नेपाली विदेशमा छन् ।

रोजगारीका लागि विदेश जानेहरूमा बढिजसो यूएई, साउदी अरेबिया, कतार, कुवेतलगायतका देश पुग्छन् । वैदैशिक रोजगारीका लागि नेपालीहरू १ सय ४८ वटा देश पुगेको तथ्यांक छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार त विगत पाँच वर्षमा ३० लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । तर निर्वाचनको सम्मुखमा यो तथ्यांकले आप्रवासी नेपाली कामदारको स्थिति मात्र देखाउँदैन, मतदान अधिकारबाट वञ्चित हुने मतदाताको सोलोडोलो संख्या पनि देखाउँछ । 

भनेजस्तो काम नपाउनु, आकर्षक आम्दानी नहुनुलगायतका समस्याका कारण कतिपय आप्रवासी नेपाली कामदार चाहेर पनि मतदान गर्न स्वदेश फर्किने अवस्था छैन । वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट छन् । पछिल्ला ५ वर्षमा यहाँका ८ जिल्लाबाट ७ लाख ३३ हजारभन्दा बढी रोजगारीका लागि विदेशिएका छन् ।

यस्तै कोशी प्रदेशबाट ६ लाख ५६ हजार, लुम्बिनीबाट ५ लाख ६५ हजार, गण्डकीबाट ४ लाख २४ हजार, बागमतीबाट ४ लाख १७ हजार रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट १ लाख ३ हजार कामका लागि विदेशिँदा सुदूरपश्चिमबाट भने १ लाख २१ हजार विदेशिएको देखिन्छ ।

यस्तै उच्च शिक्षाका लागि नेपालीहरू ७० भन्दा बढी देश पुगेका छन् । पछिल्ला पाँच वर्षमा ४ लाख ५० हजारभन्दा बढी विद्यार्थी प्रायः भाषा, व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङलगायतका विषय पढ्न विदेश गएको देखिन्छ । पढ्दै कमाउँदै गरिरहेका विद्यार्थीहरू निर्वाचनकै लागि भनेर स्वदेश फर्कने सम्भावना न्यून छ ।

परिवर्तनलाई अनुमोदन गर्न थुप्रै नेपाली हवाई र स्थलमार्ग हुँदै स्वदेश फर्किइरहेका पनि छन् । तर विदेशबाटै मतदान गर्न पाउने व्यवस्था कार्यान्वयन नहुँदा आर्थिकलगायत विभिन्न समस्याका कारण परिवर्तन चाहने लाखौँ विद्यार्थी र श्रमिकहरू चुनावमा देश फर्कन नपाएर निराश छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।