दलहरूको घोषणा पत्रमा सडक-पुलको होड, पर्या-पर्यटनको मुद्दा भने ओझेलमा

फाल्गुन १३, २०८२ |मनोज पौडेल
दलहरूको घोषणा पत्रमा सडक-पुलको होड, पर्या-पर्यटनको मुद्दा भने ओझेलमा

कपिलवस्तु । राजनीति दलहरूले निर्वाचनलाई लक्षित गरी ल्याएको प्रतिबद्धता, वाचा, प्रतिज्ञा र घोषणा पत्रमा भौतिक पूर्वाधार, बाटोघाटो, पुलपुलेसा र विकासलाई बढी जोड दिएको पाइन्छ। 

मतदातालाई प्रभावित गर्ने, भुलाउने योजना र कार्यक्रमलाई प्राथमिकता दिँदा पर्या-पर्यटन, वातावरण र जलवायु परिवर्तनका विषय र मुद्दा ओझेलमा परेको सरोकारवालाहरू बताएका छन् । नेपालले पर्या-पर्यटनको राम्रो सम्भवना बोकेको छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधता, मनमोहक विश्वप्रसिद्ध प्राकृतिक सौन्दर्य, चरा, वन्यजन्तु आकर्षण बोकेका उत्कृष्ट स्थल यही छन् । 

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र उत्कृष्ट आतिथ्य संस्कृतिका कारण नेपाल विश्वकै उत्कृष्ट पर्या-पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थल हो । प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण हाल विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको बिधाका रूपमा पर्या-पर्यटन रहेको छ।

तर, यी कुरामा दलहरूले दूरदृष्टि राखेर काम नगर्दा नेपालले अपेक्षित फाइदा लिन सकिरहेको छैन । बर्षेनि करिब ४२ हजार नेपालीको अकालमा ज्यान लिने वायु प्रदूषण, जलवायु परिवर्तनले हिमाल र मानवलाई पारिरहेको असरप्रति संवेदनशील नहुनु र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलाई न्यूनीकरण गर्न दलले खासै प्राथमिकतामा राखेको पाइदैन् । 

त्यस्तै दिगो पर्यटन पूर्वाधार निर्माण गर्ने र नयाँ गन्तव्यहरूको पहिचान तथा प्रवर्द्धन गर्ने विषयलाई दलले ओझेलमा राखेका छन् । क्षेत्रफलका हिसाबले विश्वमानचित्रमा नेपाल निकै सानो भए पनि जैविक विविधताका दृष्टिले अग्रणी स्थानमा छ। नेपालमा ३ सय ५० प्रजातिका वनस्पति र १ सय ६० प्रजातिका जीवजन्तु रैथाने छन्, जो अन्त कतै पाइदैनन्। 

नेपालमा विश्वका झन्डै नौ प्रतिशत चराका प्रजाति तथा २ प्रतिशत फूल फुल्ने वनस्पतिका प्रजाति पाइन्छन्। त्यस्तै ९ सय ३ प्रजातिका चरा र ६ सय ९५ बढी पुतलीका प्रजाति पाइन्छन् । तराईदेखि हिमाली क्षेत्रसम्म पाइने वनस्पति तथा जीवजन्तुमा ठूलो विविधता छ।

प्रदूषण न्यूनीकरण गर्दै प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्ने, पर्यापर्यटनको फाइदा सिधैं स्थानीय ग्रामीण जनजीवनसम्म जोड्ने र जनस्तरमा विकास कार्यलाई प्रोत्साहन गर्ने नीति, योजना र कार्यक्रम अघि सानु पर्छ । एक अध्ययनले देखाए अनुसार नेपाल आउने विदेशी पाहुनामध्ये ६० प्रतिशतभन्दा पनि बढीले हाम्रा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको भ्रमण गर्न मन पराएको देखिन्छ ।

प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण हाल विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको बिधाका रूपमा पर्यापर्यटन अग्रणी स्थानमा रहेको छ। पर्या-पर्यटनको विकासकालागि राजनीतिक प्रतिबद्धता मात्र होइन, स्पष्ट कार्ययोजना, बजेट सुनिश्चितता र जवाफदेहिता सहित युद्धस्तरको सुधार पर्खिरहेको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।