पूर्वी नवलपरासीको त्रिवेणीधाममा पर्यटकको घुइँचो, फोहोर व्यवस्थापनमा भने चुनौती

फाल्गुन १२, २०८२ |भुवन पाण्डे
पूर्वी नवलपरासीको त्रिवेणीधाममा पर्यटकको घुइँचो, फोहोर व्यवस्थापनमा भने चुनौती

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो समय धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले थप आकर्षणको केन्द्र बन्दै गएको छ । 

यहाँ धार्मिक अनुष्ठान, स्नान र विभिन्न आध्यात्मिक गतिविधिमा सहभागी हुनेको संख्या बढेसँगै फोहोर व्यवस्थापनमा पनि चुनौती थपिएको छ । व्यवस्थापनमा ध्यान नदिँदा ऐतिहासिक धामको सौन्दर्य संकटमा पर्ने जोखिम बढेको छ ।

अर्घाखाँचीका लोकराज पाण्डे आफन्तसँग धार्मिक अनुष्ठान र स्नानका लागि त्रिवेणीधाम आइपुग्नुभएको छ । पवित्र स्थलमा दर्शन र स्नान गर्न आउँदा उहाँ उत्साहित हुनुहुन्थ्यो, तर मन्दिर परिसर र वरपर देखिएको फोहोर र दुर्गन्धले उहाँलाई दुःखी बनायो । पाण्डे मात्र नभइ पवित्र भूमिमा आउने धेरैजसो भक्तजन यहाँको फोहोर देखेर निराश हुँदै फर्कने गरेका छन् ।

त्रिवेणीधाम हिन्दु धर्मावलम्बीको आस्था र श्रद्धाको केन्द्र भएकाले नेपालीसँगै भारतीय धार्मिक पर्यटकको पनि उल्लेख्य उपस्थिति हुने गरेको छ । तर, जति पर्यटकको संख्या बढ्दै गएको छ, त्यही अनुपातमा धाम आसपास फोहोर पनि बढिरहेको छ । स्थानीय सरकारले फोहोर व्यवस्थापनका लागि पहल गरेको दाबी गरे पनि अवस्था भने सुधारिएको देखिँदैन ।

पछिल्लो समय त्रिवेणी क्षेत्रमा आध्यात्मिक तथा पर्यटकीय गतिविधि बढ्दै गएका छन् । करिब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले विभिन्न आधुनिक संरचना निर्माण भएका छन् । पर्यटकका लागि नारायणी नदीमा डुंगा सयरको व्यवस्था गरिएकाले यहाँको आकर्षण अझ बढाएको छ ।

उत्तरबाट बग्ने नारायणी नदी र नदीपारी अवस्थित चितवन राष्ट्रिय निकुञ्जको मनमोहक दृश्यले त्रिवेणीधाम आउने सबैलाई आकर्षित गर्छ । बढ्दो पर्यटकीय चहलपहलसँगै धामको गरिमा जोगाइराख्न फोहोरको दिगो व्यवस्थापनमा ढिलाइ गर्न हुँदैन ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।