
बाँके । निर्वाचन नजिकिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल तातेको छ।
२२ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा उम्मेदवार र दल घरदैलो र चुनावी अभियानमा व्यस्त छन्। यस पटकको चुनाव विकासका एजेन्डाभन्दा बढी स्थानीय कि अन्यत्रका उम्मेदवार भन्ने बहसमा यहाँका मतदाता केन्द्रित भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका दुई वडा, जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको यो क्षेत्रमा यसपटक सबै उम्मेदवार नयाँ छन्। यही कारण मतदातामाझ उम्मेदवारको पहिचान र स्थानीय सम्बन्ध मुख्य मुद्दा बनेको छ। स्थानीय उम्मेदवारका रूपमा नेपाली कम्युनिष्ट पार्टीबाट बैजनाथ निवासी दिपक जीएम र नेकपा (एमाले)बाट खजुरा निवासी सुमन मल्ल चुनावी मैदानमा छन्।
यता टुरिष्ट उम्मेदवारको आरोप खेपिरहेका नेपाली कांग्रेसका अमरसिंह पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार भने आफूलाई विचार र जिम्मेवारीले स्थानीय भएको दाबी गर्छन्। रोल्पा निवासी पुन लुम्बिनी प्रदेश सभापति हुनुहुन्छ भने दैलेख निवासी सुनारको परिचय सामाजिक अभियन्ता हो ।
१ लाख १७ हजार ३ सय ५४ मतदाता रहेको यो क्षेत्रमा ४८ मतदान स्थल र १३५ मतदान केन्द्र छन्। विगतमा एमाले र कांग्रेसको जनाधार बलियो देखिए पनि यसपटक सबै नयाँ अनुहारहरूको प्रतिस्पर्धाले चुनावलाई रोचक बनाएको छ।