निर्वाचन बिथोल्ने गतिविधिलाई सरकारले निगरानी गरिरहेको कावा प्रमुख निर्वाचन आयुक्तको भनाइ

मत सर्वेक्षण नगर्न पनि सञ्चारमाध्यामहरूलाई आग्रह
आचारसंहिताविपरीतका कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी
फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन बिथोल्ने गतिविधिलाई सरकारले निगरानी गरिरहेको कावा प्रमुख निर्वाचन आयुक्तको भनाइ

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकाले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

गोरखापत्र संस्थानले आइतबार गरेको कार्यक्रममा उहाँले केही समूहले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताउनुभयो । अझै पनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै उहाँले भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिनुभयो । 

निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उहाँले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो । निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । 

साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उहाँले दिनुभयो । केही सञ्चारमाध्यामहरूले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उहाँले मत सर्वेक्षण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले आचारसंहिता विपरितको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.