कपिलवस्तु । बम बारूद बनाउन र पड्काउन पोख्त हात अहिले ब्यालेटबाट भविष्य खोज्दैछ ।
बन्दुक पड्काउने हात अहिले चुनावको पर्चा पम्पलेट बाड्न व्यस्त छ । हो, तत्कालीन माओवादीको पीएलएको प्लाटुन कमान्डरसम्म बन्नुभएकी सकिना मुस्लिम अर्थात् रविना खान फागुन २१ गते हुने रूपन्देहीको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको छ ।
माओवादी विद्रोहको बेला मुस्लिम महिला छापामारका रूपमा परिचित रविना अहिले उम्मेदवार बन्नुभएको हाे । पूर्व माओवादी लडाकू कमान्डर रविना खान हरेक दिन पर्चापम्पलेट राखेको सानो कालो ब्याग कुममा झुन्ड्याउनु हुन्छ र अर्को हातमा ह्यान्ड माईक बोक्नुहुन्छ । अनि सुरू हुन्छ उहाँको दैनिकी ।
गाउँ, सहर, टोल बजारमा निर्वाचनको प्रचारप्रसारले माहोल तातेका बेला जिल्लाको सुकुम्बासी बस्तीकी उहाँ भने पैदल प्रचारप्रसारमा जुट्नु हुन्छ । हुनेखाने उम्मेदवार ठूलो दलबल र मोटर गाडीमा गीत संगीत बजाउँदै हिड्दा उहाँ भने बाटो हिड्दा भेटिने साइकल र मोटरसाइकलसँग लिफ्ट मागेर एक-गाउँदेखि अर्को गाउँ पुग्नुहुन्छ ।
जिल्लाको मायादेवी गाउपालिका-३, बड्की खैराटीकी उहाँ २०५८ सालदेखि माओवादी सशस्त्र संघर्षमा लाग्नु भएको थियो । संघर्षका बेलाका पुराना साथीभाई र सुकुम्बासी बस्तीका दुई चारजना अगुवा अहिले उहाँका सहयोगी बनेका छन् । उनीहरूमध्येकाले पालै पालो साइकल र मोटरसाइकलमा रविनालाई गाउँ-गाउँ घुमाउँछन् ।
माओवादी सशस्त्र संघर्षमा होमिएपछि उहाँको घरसँग सम्बन्ध टुट्यो । उहाँ वाणगंगा नगरपालिका, पटना आसपासका सुकुम्बासी बस्तीमा बस्नुहुन्छ । गाउँलेलाई खेतीपाती र ज्याला मजदुरी गरेर सघाउँदै आउनु भएकी उहाँले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
माओवादी विद्रोहका बेला प्रेसर कुकर बम बोकेर संघर्षको कठिन बाटो रोजेकी रविना आज त्यही प्रेसर कुकर चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । जुन गरिब विपन्न र सुकुम्बासी बस्तीमा आफू रहनु भएको छ, त्यहीँ समुदायको उत्थान र विकासलाई मुद्दा बनाएर उहाँ चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले मुस्लिम महिलातर्फ उहाँको नाम समानुपातिकबाट प्रारम्भिक बन्द सूचीको पहिलो नबर राखेर निर्वाचन आयोगमा पठाए पनि पछि संशोधन गरेर हटाएको थियो । आफ्नो संघर्ष र त्यागलाई नेताहरूले बेवास्ता गरेर अवमुल्यन गरेको भन्दै उहाँले उम्मेदवारी दिनुभएको हो ।
नवलपुरको झ्याल्टुङ डाँडामा रहेको माओवादीको चौथौं डिभिजनअन्तर्गत लामो समय काम गर्नुभएकी ३३ वर्षीया रविना हातहातियार बम बनाउने प्राविधिक लडाकूको दस्ताको सदस्य हुनुहुन्थ्यो ।