सल्यानमा मतदान केन्द्रहरूको अनुगमन तीव्र

सुरक्षा सतर्कता उच्च
फाल्गुन ५, २०८२ |सरिता चलाउने
सल्यानमा मतदान केन्द्रहरूको अनुगमन तीव्र

सल्यान । निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रहरूको अनुगमनलाई तीव्र बनाइएको छ । 

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानमा कुल १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ४३ वटा मतदान स्थल 'अति संवेदनशील' सूचीमा परेका छन् । सम्भावित सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै ती क्षेत्रहरूमा विशेष निगरानी र अनुगमन गरिएको हो ।

प्रतिनिधि सभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा सल्यानमा चुनावी सरगर्मी बढ्दो छ । उम्मेदवारहरू आफ्नो एजेन्डा र प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन्। गाउँ-बस्तीमा चुनावी बहस, छलफल र भेटघाट तीव्र बनेको छ । 

यता जिल्ला सुरक्षा समितिले पनि मतदान केन्द्रहरूको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेको छ । मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले संयुक्त रूपमा संवेदनशील तथा अति संवेदनशील मतदान स्थलको निरीक्षण गरी सम्भावित जोखिमको विश्लेषण गरेको जनाएको छ । 

मतदाताहरू पनि उत्साहीत देखिएका छन् । सल्यानको भौगोलिक विकटता निर्वाचन व्यवस्थापनका लागि चुनौतीपूर्ण बनेको छ । भौगोलिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा, सुरक्षा चुनौती र विगतका अनुभवलाई आधार मानेर मतदान स्थल वर्गीकरण गरिएको हो । 

कतिपय दुर्गम मतदान स्थलका मतपेटिका सदरमुकामसम्म ल्याउनै कठिन हुने देखिएको छ भने केही स्थानका मतपेटिका सुरक्षित रूपमा संकलन गर्न अर्को जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको छ । अनुगमनपछि संवेदनशीलताको स्तरअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । 

अति संवेदनशील र संवेदनशील मतदान स्थलमा अतिरिक्त सुरक्षा व्यवस्था, नियमित गस्ती तथा आउजाउको समय व्यवस्थापन समेत गरिएको छ । सल्यानका १ सय १७ मतदान स्थलमध्ये १७ वटा मात्र सामान्य श्रेणीमा परेका छन् । बाँकी अधिकांश स्थल संवेदनशील र अति संवेदनशील सूचीमा रहेकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन् । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरी परिचालनको तयारी पूरा भएको छ । सामान्य मतदान स्थलमा कम्तिमा तीन जना, संवेदनशीलमा पाँच जना र अति संवेदनशील स्थलमा कम्तिमा सात जनासम्म सुरक्षाकर्मी परिचालन गरिने योजना बनाइएको छ ।

जिल्लामा कुल १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३ सय २१ पुरूष र ७९ हजार १ सय २८ महिला मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि सल्यानमा १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।