
काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ दर्शन र पूजाका लागि आजैदेखि साधुसन्त र भक्तजनहरूको बाक्लो चहलपहल सुरू भएको छ ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको भन्दै यसपटक आठ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरेको छ । महाशिवरात्रि लागि पशुपतिनाथ परिसर फूलमालाले सजाउनुका साथै बिजुली बत्तीले झिलिमिली पारिएको छ ।
हालसम्म भारतसहित देशका विभिन्न स्थानबाट तीन हजारभन्दा बढी साधुसन्त आइसकेका छन् भने आजैदेखि दर्शन र पूजाका लागि भक्तजनको चलहपल बढेको छ । पशुपतिनाथ दर्शन गर्न आउनेका लागि आइतबार बिहान २ बजेबाटै मन्दिरको चारवटै ढोका खोलिने कोषले जनाएको छ ।
यसपटक आठ लाखभन्दा बढी भक्तजन आउने अनुमान गर्दै त्यसका लागि ट्राफिक व्यवस्थापनसमेत गरिसकिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा तिलगंगा आँखा अस्पताल वरपर, सिफल चौर, गौरीघाट गुहेश्वरीपारि र कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।
भक्तजनको सुरक्षा तथा सहजताका लागि आठ हजारभन्दा बढी सुरक्षाकर्मी खटिनेसमेत कोषले जनाएको छ । लाइन बसेको डेढ घण्टासम्ममा दर्शन र पूजा गर्ने गरी सहज व्यवस्थापन गरिएको छ । यस्तै भोजन, पानी, जुत्ताचप्पल राख्ने, स्वास्थ्य शिविरलगायतको पनि व्यवस्था गरिएको छ ।