कपिलवस्तु । कपिलवस्तुमा चुनावी माहोल तात्दै गएको छ ।
उम्मेदवारहरू घर-घर त पुगिसकेका छैनन् तर मतदाता भने आफूले सुनाउने समस्याका सूची टिपेर बसेका छन् । कपिलवस्तुको सदूरपश्चिममा पर्ने क्षेत्र नम्बर ३ को कृष्णनगर नगरपालिका-१२ को भदुई र मानपुरका बासिन्दा तिनैमध्ये एक हुन् जसलाई अबको चुनावका उम्मेदवारसँग नदी कटान रोक्ने प्रतिबद्धता चाहिएको छ ।
किनकी यो सीमान्त बस्ती आठ दशकदेखि नदी कटानका कारण त्रासमा छ । गाउँ नजिकैबाट अर्रा नदी बग्छ । स्थानीयले चरङहवा भन्ने नदीले गाउँ छुन मुस्किलले ५० मिटरमात्र बाँकी छ । पूर्वतिरबाट नदी बग्ने यो गाउँ निर्वाचन क्षेत्र नं. ३ को पश्चिम दक्षिणमा पर्ने अन्तिम गाउँ हो ।
भदुई गाउँसँगै जोडिएर अर्रा नदी बग्न थालेपछि वर्षाको बेला सधैं गाउँले चिन्ता र त्रासमा बस्छन् । त्यसैले गाउँलेले आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारलाई गाउँ जोगाउन योजना र कार्यक्रम ल्याउनेलाई मतदान गर्ने बताउँछन् । उम्मेदवार घर-घर पुगेका छैनन् । तर, मतदाता भने उम्मेदवारसँग गर्ने प्रश्नको सूची बनाएर बसेका छन् ।
उम्मेदवार आए उनीहरूसँग गाउँ जोगाउन नदी नियन्त्रणको सामुहिक प्रतिबद्धता गराउने बताउँछन् । भदुई गाउँको अगाडि नदी पर्छ । पछाडी घरबाट बलेनीको पानी झर्दा दसगजा पुग्छ । आठ दशकमा तीन पटक भदुई गाउँ सरेर अहिले बसोबास गरिरहेको ठाउँमा पुगेका हुन् । ३ नं. क्षेत्रबाट २०४८ साल यता ४ जना सांसदलाई जिताएर पठाए पनि उनीहरु काम नगर्दा यस पटक प्रचारका लागि आउने उम्मेदवारलाई सामुहिक प्रतिबद्धता गराएर मात्र मत दिने गाउँलेहरू बताउँछन् ।
१७ घर रहेको भदुईमात्र नभएर नजिकै ३५ घर रहेको मानपुरगाउँको पनि उस्तै समस्या छ । कालो बादल मडारिएर गडयाङ गुडुङ हुनासाथ गाउँले सर्तक हुन्छन् । भगवानको नाम जप्दै बस्छन् । भदुई गाउँलाई अर्रा नदीले पश्चिम, उत्तर र पूर्व तीन तिरबाट घेरेकोछ । दक्षिण भारतीय सीमा पर्छ । मानपुरको अवस्था पनि तीनतिरबाट नदीले घेरिएको छ भने दक्षिण भदुई पर्छ ।
५० वर्षमा दुवै गाउँको एक हजार बिघा खेतीयोग्य जग्गा कटान गरेको छ । प्रजातन्त्र हुँदै लोकतन्त्र आउँदा यहा विकासका कामको छाया पनि परेका छैन् । मानपुर गाउँमा ईटा सोलिङ गरेको सामान्य बाटोछ । वर्षाका बेला बाटोमा घुँडासम्म हिलो आउँछ ।
मिनही डिह जग्गा हुँदा लालपूर्जा पाउन सकेका छैनन् । बाढीबाट मानपुर-भदुई आवतजावत गर्ने ४ मिटर चौडा ३ सय मिटर लामो ग्रयाबल बाटो गत वर्ष नदीमा मिसियो । अहिले बाटो छैन् । अरुले बाली रोपेको खेत हुँदै आवतजावत गर्नु परेको छ ।गाउँमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र रोजगारीको कुनै अवसर छैन् ।
वर्षाका बेला गाउाको बाटोमा असारदेखि असोजसम्म हिँडन सकिन्न । ६ कक्षादेखि माथि पढन परे दैनिक ५ देखि १० किमि पर हृदयनगर र सौनहवा पुग्नु पर्छ । स्वास्थ्य चौकी पुग्न तीन किमप हिँडेर बेदर्मी पुग्नु पर्छ । दुवै गाउँमा ग्रामीण भेगमा सडकको अवस्था नाजुक छ । खानेपानी अभाव छ । शिक्षा र स्वास्थ्यमा पहुँच सीमित हुँदा युवा रोजगारीका लागि भारतजाने गरेका छन् ।
कपिलवस्तुमा सबैभन्दा धेरै उम्मेदवार यस क्षेत्र नं. ३ मा छन् भने मतदाता अन्य दुई क्षेत्र भन्दा कम छन् । क्षेत्र नं. ३ बाट दलका १३ र २३ जना स्वतन्त्र गरी ३६ जना प्रतिस्पर्धामा छन् । मतदाता भने एकलाख १८ हजार ४ सय ४ छन् ।