सुनिल थापा : सबैलाई इज्जत गर्ने, अनुशासनमा बस्ने कलाकार

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनिल थापा : सबैलाई इज्जत गर्ने, अनुशासनमा बस्ने कलाकार
काठमाडौँ। वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको हो । 

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । उहाँ हाल नेपाली चलचित्र राम नाम सत्यको छायांकनमा व्यस्त हुनुहुन्थ्यो । 

नेपाली चलचित्रमा ‘खलनायक’ भूमिकालाई नायकसरहको चर्चा र सम्मान दिलाउन सफल उहाँ ‘राते काइँला’ नामले विशेष रूपमा परिचित हुनुहुन्थ्यो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताउनुभयो । नेपालको चलचित्र क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँ मिलनसार, सबैलाई इज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार हुनुहुन्थ्यो । एउटा असल व्यक्तित्व हुनुहुन्थ्यो, नेपालका लागि स्थापित कलाकार ।”

निर्देशक तथा अभिनेता प्रशान्त ताम्राकारले थापाको निधनले नेपाली चलचित्र उद्योगलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले आफ्नो चलचित्र यात्रामा सुनिल थापाको ठूलो सहयोग र योगदान रहेको बताउनुभयो । उहाँले शुक्रबार मात्रै थापासँगै आफूले राम नाम सत्य नामक चलचित्रको छायांकन गरेको बताउनुभयो । उक्त चलचित्रको बाँकी कामको लागि दैलेख जाने योजना भए पनि अब अधुरो रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म चलचित्र उद्योगमा हुनु नै सुनिल दाइको ठूलो देन छ । उहाँको सहयोग नभएको भए म यो उद्योगमा हुने नै थिइनँ होला ।”

निर्माता दीपक कोइरालाले थापालाई आफ्ना अभिभावकसरह व्यक्तित्वका रूपमा स्मरण गर्नुहुँदै उहाँको निधनले आफूलाई गहिरो पीडा पुगेको बताउनुभयो । स्वर्गीय थापाले आफूलाई धेरै सहयोग र मार्गनिर्देशन गर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मेरो त उहाँ अभिभावक नै हो ।”

थापाका परिवारका सदस्यहरू भारतको मुम्बईमा बसोवास गर्दै आएका छन् । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । परिवारका सदस्य काठमाडौँ आएपछि अन्तिम संस्कार गर्ने जनाइएको छ । हाल नर्भिक अस्पतालमा कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । 

वरिष्ठ कलाकार नीर शाह, निर्माता तुलसी घिमिरे, कलाकार विल्सनविक्रम राई लगायतका कलाकारहरू थापाको निधनको खबरपछि नर्भिक अस्पताल पुग्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.