
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेललाई २० भदौ २०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षका लागि नियुक्ति गर्नुभएको थियो । पौडेलविरूद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय माग दाबी लिइएको छ ।
सोही अभियोगमा सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियारले तत्कालीन निमित्त नायब महाप्रबन्धक साहविरूद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ र काफ्लेविरूद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रूपैयाँ बिगो माग दाबी गरेको छ । यसैगरी अख्तियारले लाल, साह, अधिकारी र जिसीविरूद्ध पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ बिगो दाबी गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।