
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र-केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रको आधारमा उम्मेदवार छनाेट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उहाँको भनाइ छ ।
महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उहाँले नीति-केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो ।
राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिस्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा एक-अर्कालाई गाली गरेर नभइ ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर हुनुपर्ने उल्लेख गर्नुभयो ।
मर्यादित र मुद्दा-आधारित प्रतिस्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उहाँको विश्वास छ । उहाँकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो । उहाँले वर्तमान राजनीतिको मुख्य एजेन्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताउनु भयो । उहाँले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहे पनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले राजनितिक दलहरूको कार्यन्वयनमुखी घोषणा पत्र बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली कांग्रेसले गर्नसक्ने कामहरूलाई मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिनुभयो । सुशासन, रोजगारी र आर्थिक विकास कांग्रेसको मुख्य एजेन्डा हुने उहाँको भनाइ छ ।