
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगी ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
शहीद सप्ताहको अन्तिम दिन शुक्रबार प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । हरेक वर्ष काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिएको हो । शहीद दिवसको अन्तिम दिन शुक्रबार बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरू भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो ।
सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राख्नुभयो । सरकारले शहीद दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।