
काठमाडौं । आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि निर्वाचन आयोगले झापा-५ का बालेन्द्र शाह, भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ र रूपन्देही-२ का उम्मेदवार निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ ।
बालेन्द्रमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको हो । यस्तै बस्नेतलाई बालेन्द्रलाई 'छाउरा' भनेको लगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा तथा भुसाललाई जेन-जी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, हत्यारा, बलात्कारीजस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । फागुन २१ गते हुने मतदानको समय नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधि पनि बढ्दै गएका छन् ।
चुनावी अभियानमा आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेपछि निर्वाचन आयोगले नेकपाबाट जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई स्पष्टीकरण सोधेको छ । उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरित गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण सोधेको हो। 'बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरूलाई पाँच सय रूपैयाँका नोटहरू प्रदान गर्दै गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण बुझाउन भनेको छ ।
यसैगरी कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, उद्योगमन्त्री इस्राइल मन्सुरी, उम्मेदवारहरू काठमाडौं-४ का सुरेन्द्र भण्डारी, ओखलढुंगाका विश्वराज पोखरेल, दोलखाका जगदीश खरेल र अखिल नेपाल फुटबल संघ तथा राष्ट्रिय खेलकुद परिषद्लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
यसैबीच रास्वपाबाट झापा- ५ का उम्मेदवार बालेन्द्र शाह र श्रम संस्कृति पार्टीबाट सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरूद्ध आयोगमा उजुरी परेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको मागसहित शाह र साम्पाङविरूद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७६ जना बच्चाको हत्यारा भन्दै मानहानी र प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति दिएको दाबीसहित छानबिन गरी कारबाहीको माग गरिएको छ। त्यसैगरी साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी परेको हो ।
अन्य दुई दर्जन व्यक्तिविरूद्ध पनि उजुरी परेको छ । आयोगले उजुरीमाथि छानबिन गरिरहेको र उनीहरूलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जनाएको छ ।