
काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।
मंगलबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभयो । त्यसैगरी सभामा ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ पेस भएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । चलचित्र विधेयकमाथिको समितिको प्रतिवेदन पेस गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रुपमा विकास गर्न, चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउन, चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था तथा प्रवर्द्धन र नियमनका लागि यो कानुन महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सभाको अर्को बैठक यही माघ १४ गते बुधबार अपरान्ह १ः१५ बजे बस्नेछ ।