
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गर्नुभयाे। त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित हुनुभयाे । उहाँकी निकटतम प्रतिद्वन्द्वी नमिता न्याैपानेले २ हजार २६८ मतभार प्राप्त गर्नुभयाे।
निर्वाचनमा स्थानीय तहतर्फ २ सय ५८ र प्रदेश सभातर्फ ८७ मत खसेको थियो। स्थानीय तहमा कुल २ सय ६७ मध्ये २५८ ले मतदान गरे। प्रदेश सभामा ९२ मध्ये ८७ मत खस्यो। मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेश सभाको ५३ तोकिएको थियो।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेका छन् । तीन दलबीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।