
काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि अहिले सातै प्रदेशमा मतदान भइरहेको छ ।
आइतबार बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आइतबार मतदान भइरहेको आयोगले जनाएको छ ।
कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । बाँकी १७ पदका लागि सातै प्रदेशका मतदानस्थल तथा केन्द्रमा मतदाताहरू पुगेर मतदान गर्ने क्रम जारी छ । दिउँसो १ बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार कोशीमा १ सय १३, मधेशमा २ सय २७, बागमतीमा २ सय १७, गन्डकीमा १ सय ८०, लुम्बिनीमा १ सय ६३, कर्णालीमा १ सय ४५ र सुदूरपश्चिममा १ सय ८६ मत खसेको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, गण्डकीको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णालीको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिमको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान भइरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेका छन् ।
तीन दलबीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका तथा गाउँपालिका प्रमुख-उप्रमुखको मतभार १९ रहेको छ।