सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरूमा वर्षासँगै हिमपात, राजमार्गहरू अवरूद्ध

चिसो बढेसँगै जनजीवन प्रभावित
माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरूमा वर्षासँगै हिमपात, राजमार्गहरू अवरूद्ध

काठमाडौं । मौसममा आएको बदलीसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ। 

सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरूमा वर्षासँगै हिमपात हुँदा राजमार्गहरू अवरूद्ध भएका छन् भने चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । वर्षा र हिमपातले किसान भने हर्षित छन् । बैतडी, डडेलधुरा, दार्चुला, डोटी र बाजुराका लेकाली भेगमा शुक्रबार र शनिबार राति वर्षासँगै हिमपात भएको हो ।

बाजुराको बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडे-दह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको छ । हिमपात भएपछि डाँडाकाँडा सेताम्ये भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । 

वर्षासँगै हिमपात भएपछि सुक्न लागेको गहुँ बालीलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताउनुभयो । हिमपात भएपछि त्यस क्षेत्रका किसानहरू खुसी भएका छन् । लामो समयदेखि खडेरीको मार खेप्दै आएको हुम्लामा यस वर्षको पहिलो पटक हिमपात भएको हो । पश्चिमी वायूको प्रभावका कारण शुक्रबार राति करिब ९ बजेदेखि जिल्लाका विभिन्न स्थानमा हिमपात सुरू भएको हो।

धेरै समयसम्म वर्षा र हिमपात नहुँदा सुक्खापन बढ्दै गएको हुम्लामा परेको यो हिमपातलाई स्थानीय बासिन्दाले राहतको रूपमा लिएका छन् । लामो समयपछि हिउँ परेपछि खेतबारीमा लगाइएका गहुँ, जौलगायतका बालीनाली सप्रिने आशा गरिएको छ।

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांश राजमार्ग अवरूद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरूद्ध भएका हुन् । यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । 

शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.