
काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिनुभएको छ ।
सञ्चारकर्मीहरूसँग सोमबार आयोगमा कुराकानी गर्दै उहाँले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिनुभएको हो । तडकभडकलाई कानुनले पूर्णरूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराउनु भयो ।
आचारसंहीता उल्लंघन गर्नेविरूद्ध आयोगले कठोर निर्णय लिने चेतावनीसमेत उहाँले दिनुभयो । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गर्नुभयो । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताउनु भयो ।