
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरूद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् ।
युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फबाट पेस भएको रिट दर्ता भएको हो । रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ । उनीहरूले रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै रोक्न अन्तरिम आदेशको माग गरेका छन् ।
महान्यायाधिवक्ताले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरूको अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो । सुरूमा उहाँले लामिछानेको हकमा मात्र यस्तो निर्णय गर्नुभएको थियो भने शुक्रबार पुन सच्याउँदै सबै प्रतिवादी विरुद्धका दुई अभियोगपत्र संशोधनका लागि स्वीकृति दिन निर्णय गर्नुभएको थियो ।