
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षले पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्याउनुभएको हो । उहाँले पार्टी विधानअनुसार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भए पनि ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उल्लेख गर्नुभयो । उहाँले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भए पनि तत्कालीन महामन्त्रीद्वयले अत्यासअनुरूप जिम्मेवारी पूरा गर्न नसकेको बताउनु भयो । उहाँले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी वैशाखमा गर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले गत पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर समेत गर्नुभयो ।