कांग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ : विश्वप्रकाश शर्मा

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ : विश्वप्रकाश शर्मा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन नभएको बताउनुभएको छ ।

आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले कांग्रेस एकीकृत रहेको बताउनु भयो । उहाँले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गर्नुभयो । विशेष महाविधशनले गरेको निर्णयअनुरूप आयोगले अद्यावधिक गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले कांग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कुनै पनि कानुन आकर्षित नहुने उल्लेख गर्नुभयो । विशेष महाधिवेशन प्रतिनिधिहरूले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उहाँको भनाइ छ । उहाँले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाउनु भयो । 

उहाँले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरू पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैर-राजनितिक चरित्र भएको बताउनु भयो । आयोगले निष्पक्ष रूपमा निर्णय गर्ने उहाँको विश्वास छ । उहाँले विधानअनुरूप नै महामन्त्रीको हैसियतले आफूहरूको विशेष महाधिवेशन गरेको बताउनु भयो ।

उहाँले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गर्नुभयो । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उहाँको भनाइ छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरूले गरेको उहाँले बताउनु भयो । विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.