संस्थापन पक्षकाे चेतावनी : निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौं

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
संस्थापन पक्षकाे चेतावनी : निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिनुभएको हो । उहाँले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो । 

उहाँले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन । प्रत्येक ठाउँमा नेपाली कांग्रेस चारतारे झन्डा र रूख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरूका आधारमा भनेका हौँ ।’

पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.