
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न एक साता अघि दरखास्त आह्वान गरिए पनि ३६ जिल्लामा मागभन्दा कम आवेदन परेको छ।
कम आवेदन परेपछि ती जिल्लामा दरखास्त दिने म्याद शनिबारसम्म थप गरिएको हो। ४० दिनको कार्यअवधि तोकेर नेपाल प्रहरी मातहत परिचालन गर्न एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल मातहत खटाउन १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई चुनावमा खटाउन पुस २५ देखि आवेदन खुलाइएको थियो ।
शुक्रबारसम्म करिब २ लाखले आवेदन दिएकामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा कम आवेदन परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशीमा ९ जिल्ला धनकुटा, इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र ताप्लेजुङमा मागभन्दा कम आवेदन परेको छ।
त्यस्तै बागमतीका ८ जिल्ला धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा पनि कम आवेदन परेको छ। गण्डकीका सबै ११ वटै जिल्लामा मागभन्दा कम आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठानमा पनि मागअनुसार आवेदन परेको छैन । सुदूरपश्चिमका डोटी, अछाम, डडेल्धुरा र बैतडीमा पनि मागअनुसार दरखास्त परेन ।
प्रहरी र सशस्त्रका अधिकारी मागअनुसार आवेदन नपर्नुलाई एकै पटक बढी संख्यामा भर्ना खुलाइनु र वैदेशिक रोजगारी मुख्य कारण रहेको हुन सक्ने बताउँछन्। निर्वाचन प्रहरीमा खटिँदा मतदान गर्न नपाउने भएकाले पनि आवेदन कम परेको हुन सक्ने अनुमान छ ।
१८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन गर्न पाउने व्यवस्था छ । विगतका निर्वाचनमा भने मागभन्दा तेब्बर संख्यामा आवेदन पर्ने गरेको थियो। मंसिर २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो।
वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो। २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै छ।
त्यसका लागि नियमिततर्फ सेना, प्रहरी र सशस्त्र तथा ४० दिन कार्यअवधि तोकेर डेढ लाख निर्वाचन प्रहरी खटाइँदै छ। निर्वाचन आयोगले आसन्न चुनावमा देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ। निर्वाचनमा भित्रि घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने तयारी छ।