
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशीका पहाडी क्षेत्रबाहेक अन्य स्थानमा बलियो देखिएको छ ।
ललितपुर २ मा नतिजा आउन बाँकी रहँदा रास्वपा काठमाडौं उपत्यकामा क्लीनस्विपनजिकै पुगेको छ । रास्वपाले कहाँ-कहाँ गरेको छ त क्लिनस्विप ?
कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो देखिएको छ । झापा ५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले जित हासिल गरिसक्नुभएको छ भने अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले मतान्तर बढाउँदै लग्दा झापा क्लीनस्विप गर्ने संभावना देखिएको छ।
मोरङका दुई निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने ४ वटा क्षेत्रमा अग्रता लिइरहेको छ । सुनसरी १ बाहेक अन्य दुई स्थानमा ठूलो मतान्तरका साथ अघि बढिरहेको छ । सुनसरी १ मा भने श्रम सस्कृति पार्टीका हर्क साम्पाङ ५ हजारभन्दा बढी मतले अघि हुनुुहुन्छ ।
भोजपुर र खोटाङमा समेत श्रम सस्कृति पार्टी अघि छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रमा रास्वपाले नै क्लीन स्वीप गर्नेगरि मतान्तर अघि बढाएको छ। मधेश प्रदेशमा रौतहट १ र धनुषा १ बाहेक सबै जिल्लामा रास्वपाले अग्रता बढाएको छ। मधेशका ८ जिल्लाका ९ वटा क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ ।
त्यस्तै बागमती प्रदेशको काठमाडौं तथा भक्तपुरमा रास्वपाले क्लीनस्विप गरेको छ भने ललितपुरका तीनमध्ये दुई स्थानमा जित हासिल गरिसकेको छ। अन्तिम नतिजा आउँन बाँकी रहेको ललितपुर दुईमा रास्वपाको १७ हजारभन्दा बढी मतान्तर रहँदा उपत्यका नै रास्वपाले क्लीनस्विप गर्ने देखिएको छ ।
चितवनका दुई निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेकोमा चितवन १ मा पनि रास्वपा ठूलो मतान्तरका साथ अघि बढिरहेको छ । त्यसैगरी गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये कास्की र बाग्लुङका सबै क्षेत्रमा क्लीनस्विप गरेको छ । साथै तनहुँ र नवलपरासीका सबै क्षेत्रमा ठूलो मतान्तरका साथ रास्वपाका उमेदवारले मत बढाइरहेका छन् ।
लुम्बीनी प्रदेशमा गुल्मी र बााकेका सबै क्षेत्र क्लीनस्विप गरेको छ भने अर्घाखाँचीमा पनि जित हासिल गरिसकेको छ । दाङ, रुपन्देही बर्दिया र नवलपरासी पश्चिमका सबै क्षेत्रमा रास्वपाका उम्मेदवारले ठूलो मतान्तर कायम गरेका छन् । कर्णाली प्रदेशमा भने सुर्खेतको दुई नम्बर क्षेत्रमा मात्रै रास्वपाले जित हासिल गरेको छ।
सुदुरपश्चीममा रहेका ९ वटा जिल्लामा कैलाली र कञ्चनपुरका एक-एक क्षेत्रमा जित हासिल गरेकेा भने अन्य सबै क्षेत्रमा रास्वपाका उमेदवार अग्रस्थानमा छन् । साथै सुदुरपश्चिमको डडेलधुरा र बैतडीमा समेत रास्वपाले मतान्तर बढाउँदै लगेको छ ।